असोज २२, २०८० ----------------------------------------------
गाजा– प्यालेस्टाइन सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रिपरिषद्ले आइतबार ‘युद्धको अवस्था’को घोषणा गरेको छ ।
हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ । इजरायली भूमिमा हमास लडाकू र इजरायली सैनिकबीच भिडन्त भइरहेका बेला इजरायली सेनाले आइतबार पनि गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ ।
हमासका प्रवक्ता डेनियल हागारीका अनुसार हमासका लडाकूले आइतबार साँझ दक्षिणी इजरायलका विभिन्न समुदायमालाई आफ्नो नियन्त्रणमा लिएको छ भने इजरायली रक्षा बल ९आइडीएफ० का सैनिकसँग झडप भएको छ ।
इजरायली उद्धार सेवा जाकाले एक विज्ञप्ति जारी गर्दै गाजा–इजरायलको बाड नजिकैको ग्रामीण कृषि क्षेत्रमा एक सङ्गीत कार्यक्रम (नोभा फेस्टिभल)मा पार्टी गरिरहेका करिब २६० जना युवती र पुरुषको अवशेष सङ्कलन गरिएको जनाएको छ । आइतवार राति पनि महोत्सवमा सहभागी धेरै जना हराइरहेका थिए ।
हमासले इजरायलमा हजारौं रकेट प्रहार सहितको विशाल आक्रमणमा उक्त कार्यक्रमसहितका यस क्षेत्रका अन्य स्थानहरूमा आक्रमण गरेपछि सामाजिक सञ्जालहरूमार्फत आफ्ना नातेदार र साथीहरूलाई खोज्ने अभियान चलाएका छन् ।
यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायली सेना र हमासका लडाकुबीच बढ्दो द्वन्द्वबीच पेन्टागनले पूर्वी भूमध्यसागरीय क्षेत्रमा इजरायललाई समर्थन गर्न युद्धपोत र लडाकू विमान पठाउन लागेको बताएका छन् ।
अस्टिनले एक विज्ञप्ति जारी गर्दै ‘युएसएस जेराल्ड आर फोर्ड क्यारियर स्ट्राइक ग्रुप’को पूर्वी भूमध्यसागरीय क्षेत्रमा एक विमानवाहक पोत, एक गाइडेड मिसाइल क्रुजर र चार गाइडेड मिसाइल विध्वंसकको आवागमनलाई निर्देशन दिएको बताएका छन् । पेन्टागनले यस क्षेत्रमा अमेरिकी वायु सेनाको एफ–३५, एफ–१५, एफ–१६ र ए–१० लडाकू विमान स्क्वाड्रनको विस्तारका लागि पनि कदम चालेको छ ।
उनले अमेरिकी सरकारले इजरायली रक्षा बललाई युद्धसामग्रीलगायत थप उपकरण र स्रोत साधन द्रूत गतिमा उपलब्ध गराउने बताए । इजरायल-हमास संघर्षकाे चेपुवामा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक मन्त्रालयमा बसिरहेको छ । सरकारले आइतबार मन्त्री साउदकाे संयोजकत्वमा संयन्त्र बनाएकाे थियाे ।
संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्दार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण काम गर्ने भनिएको छ । इजरायलको दक्षिणी क्षेत्रमा शनिबार बिहान हमासले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । केही विद्यार्थी घाइते छन् भने एक सम्पर्कविहीन छन् ।
इजरायल र हमासबीच अहिले पनि संघर्ष जारी छ । दुवै पक्ष गरी अहिलेसम्म ११ सयभन्दा बढी मानिस मारिएका छन् भने हजाराैं घाइते भएका छन् ।